Sunday, February 5, 2023

मनहरी बहुमुखी क्याम्पसः यसरी सोचौँ न, सजिलै चल्छ

ताजा / भरखरै प्राप्त

राष्ट्रिय मावि सुनाचुरीमा माघ २६ गते आँखा शिविर हुने

रोटरी क्लब अफ हेटौडा, रोट्रयाक्ट क्लब अफ हेटौडा र हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजनामा आँखा शिविर हुन लागेको रोटरी क्लब अफ हेटौडाका सदस्य एबम् आँखा शिविर संञ्चालन समितिका सदस्य विदुर रिजालले बताउनुभयो ।

युनिभर्सलकी दीपिका हेटौडा डान्सिङ स्टारको फाइनलमाः भोट गर्न सबैमा अपिल

मनहरी–माघ २१ गते । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अन्तरगत भइरहेको हेटौंडा डान्सिङ स्टारमा...

चेपाङ समुदायमा आयोडिनको महत्व बुझाउँदै राक्सिराङ गाउँपालिका

राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ...

राक्सिराङमा मानव अधिकारको चर्चा, शिक्षा र स्वास्थ्य समस्याप्रति चिन्ता

राक्सिराङ–माघ १९ गते । स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ ।

कारले ठक्कर दिँदा मनहरीका स्वास्थ्यकर्मी अधिकारी घाइते

मनहरी बजारबाट कार्यालय मनहरी ३ स्थित हाँडीखोला स्वास्थ्य चौकीतर्फ जाँदै हुनुहुन्थ्यो ।

आरम्भ

पुस ७ गते बिहान मनहरी गाउँपालिका ८ नं वडास्थित टासी छोयलिङ गुम्बामा एउटा बैठक बस्यो, त्यो बैठक कथाले मागिरहेको एउटा आकस्मिकता थियो । मनहरी बहुमुखी क्याम्पसको पठन पाठन बन्द भएको लामो समयपछि सरोकारवालाहरुका लागि भनेर बोलाइएको बैठकमा सरोकारवालाहरुको अपर्याप्तता भने अबश्य नै थियो । न त गाउँपालिका स्तरका राजनीतिक दलका नेताहरु थिए, न त सामाजिक संघ संस्थाका नेतृत्वकर्ताहरु नै बैठकमा देखिन्थे । गाउँपालिका अध्यक्ष, केही कार्यपालिका सदस्यहरु, निवर्तमान प्रदेश सांसद लगायत सञ्चारकर्मीहरु पनि बैठकमा थिए । यद्यपि, क्याम्पस सभा भएको लामो समय बितेको र क्याम्पसको पठन पाठन समेत बन्द गरिएको लामो समयपछि आयोजित त्यो बैठकलाई पर्याप्त नै मान्नुपथ्र्याे र मानियो पनि ।

त्यो बैठक आयोजना हुनुभन्दा दुई दिनअघि म मनहरी बहुमुखी क्याम्पसको परिसरमा पुगेको थिएँ । क्याम्पस परिसरमा बढिरहेको झाडी र मान्छेको चहलपहल फर्खिरहेको भौतिक संरचनासँगै त्यहाँ दुईजना मानिस पनि भेटिए । माथिल्लो तलामा बसेर अँध्यारो अनुहार लगाइरहनु भएको क्याम्पस प्रमुख अमित पौडेल र लेखापाल नारायण मैनालीसँग मैले झण्डै ३० मिनेट समय बिताएँ । सुख–दुःखका गफ मात्रै भएनन्, पश्चिम मकवानपुरको मनहरी र यस अन्तर्गतका समाजको ऐनाबारे समिक्षा गर्ने अबसर पनि मिल्यो । हाम्रो समाजको शिक्षाप्रतिको दृष्टिकोण, सामुदायिक संस्थाप्रतिको आकर्षण र लगावका बारेमा राम्रै बुझ्ने मौका पाएँ । अझ क्याम्पस प्रमुख पौडेलले भन्नुभएको एउटा कुराले मलाई सँधै झस्काइरहेको छ–‘क्याम्पसमा पठन पाठन बन्दभएपछिको परिस्थितिपछि मान्छेहरुले फेसबुकमा अनेक अनेक लेखेर बसेका छन्, फिल्डमै आएर बुझ्ने चाहिँ तपाई नै हुनुभयो ।’

त्यसो त यो घटना हुनुभन्दा २ महिना अगाडि मनहरी ७ स्थित रोटरी मार्केट (इलाका प्रहरी कार्यालयअघि) मा एक हुल विद्यार्थीहरुले क्याम्पसका क्याम्पसका बारेमा बोलिदिन, लेखिदिन, पहलकदमी गरिदिनु गरेको अनुरोध ताजै छ । त्यसको साक्षी हुनुहुन्थ्यो मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती पनि । मैले शैक्षिक संस्था सबै मिलेर सुधार गर्नुपर्छ, सुधार शैक्षिक मात्र होइन भौतिक र सामाजिक क्षेत्रको सुधार पनि हुनुपर्छ भनिदिएको थिएँ । ती विद्यार्थी भाई बहिनीहरुले अध्यक्ष र मसँग क्याम्पस अनुगमनको आशा गरेका थिए । उनीहरुको आशा मैले पूरा गर्न सकिनँ । सायद केही समयअघि नजिकैको महेन्द्र किरण माध्यमिक विद्यालयमा अभिभावकले गरेको आन्दोलन र त्यसको व्यवस्थापनमा सक्रिय भएर लागेको एउटा पात्र भएको नाताले पनि विद्यार्थीहरुले मसँग आशा गरेका होलान् ।

के हो त मनहरी बहुमुखी क्याम्पसको अबस्था ?
क्याम्पसले प्रशासनले दिएको जानकारी अनुसार अहिले पहिलो, दोस्रो, तेस्रो र चौथो बर्षका कक्षाका समेत गरी ८७ जना विद्यार्थी क्याम्पसमा अध्ययनरत छन् । दुःखको कुरा पहिलो बर्ष बढ्ने विद्यार्थीहरु दोस्रो, तेस्रो र चौथो बर्षमा नगन्य हुन्छन् । जस्तो कि, अहिले पनि चौथो बर्षमा जम्मा ११ जना विद्यार्थी छन् । पहिलो बर्षमा ३७ जनाले भर्ना गरेका छन् । क्याम्पसमा व्यवस्थापन संकायमा मात्र अध्ययन हुने गर्दछ । ६ जना प्राध्यापकले सजिलै दैनिक २० वटा कक्षाको नेतृत्व गर्न सक्दछन् । बजारमा हल्ला भएजस्तो क्याम्पसको अबस्था बर्बादै भएको भने होइन । बार्षिक २५ लाख रुपियाँको जोहो गर्न सक्दा क्याम्पस सजिलै चलाउन सकिन्छ । त्यसका लागि व्यवस्थापन पक्षको इच्छाशक्ति पनि जोडेर हेर्नुपर्छ । त्यसो त अहिले क्याम्पस भौतिक रुपमा पूर्ण परिपक्व छ । त्यति मात्रै होइन, क्याम्पस अगाडि ४ व्यवसायिक सटर निर्माण गरी आर्थिक स्रोत जुटाउने मेसो पनि सुरु भएको छ । यद्यपि, त्यसले मूर्त रुप लिइसकेको छैन । क्याम्पसमा पुस्तकालय, शौचालय, कक्षा कोठा, लेखा व्यवस्थापन लगायत सबै पक्षहरु सबल नै ठान्नुपर्छ । तर, अहिले २० लाख रुपियाँ अभाव भएपछि समयमै प्राध्यापकहरुलाई पारिश्रमिक दिन नसकिएको हो, त्यसैको साइड इफेक्टको रुपमा पठन पाठन बन्द भएको हो । ‘तलब नै नआउने ठाउँमा किन मिहेनत वा टाइम किल गर्ने ?’–यो प्रश्नले धेरै प्राध्यापकको दिमागमा डेरा जमाएको छ । यो स्वाभाविक प्रश्न पनि हो ।

विद्यार्थीबाट असुली हुने रकमले क्याम्पस धानिन्छ ?
अहिलेको अबस्थामा विद्यार्थीबाट असुली हुने भर्ना शुल्क र मासिक शुल्क लगायत रकमले क्याम्पस धान्न सकिँदैन । किनकी, विद्यार्थी संख्या सोचेजस्तो बृद्धि छैन र अहिले भइरहेको संख्या पर्याप्त पनि होइन । यो संख्या नबढ्नुको विभिन्न कारणहरु छन्–पहिलो त क्याम्पसको व्यवस्थापकीय कमजोरी नै हो । दोस्रो कारणको रुपमा अन्य संकाय अर्थात यस क्षेत्रमा रुचाइएको शिक्षा संकायको स्वीकृति त्रिभूवन विश्वविद्यालयबाट लिन नसक्नुलाई पनि लिइएको छ । यदि शिक्षा संकायको अनुमति हुँदो हो त, क्याम्पसमा अहिले भइरहेको भन्दा दोब्बर संख्याका विद्यार्थीहरु भर्ना हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । किनकी मनहरीबाट १२ कक्षा पास भएर शिक्षा संकाय पढ्न अन्यत्र गएका विद्यार्थीको संख्या लोभ लाग्दो नै छ । क्याम्पस प्रमुख अमित पौडेलको अनुमानमा जोडबल गर्दा बार्षिक १० लाख रुपियाँ सम्म विद्यार्थीबाट असुली गर्न सक्ने अबस्था रहन्छ । त्यसका लागि विद्यार्थीहरुको नियमित शुल्क तिर्ने, भर्ना गर्ने लगायतका कुराहरुलाई अलिक अनिबार्य गराएर अघि बढ्नुपर्छ । त्यसो त त्यही कक्षा लिनका लागि हेटौँडा वा चितवन जाँदा हजारौँ खर्च लाग्ने तर, मनहरीमै यो सुविधा अत्यन्त न्यून शुल्कमा पाउनुपर्ने भन्ने पनि होइन । समय सापेक्ष शुल्कबृद्धिको कुरालाई पनि ध्यान दिन सकियो भने विद्यार्थीबाट असुली भइरहेको रकममा बृद्धि हुन्छ ।

यसरी व्यवस्थापन गर्न सकिन्छ आर्थिक पक्ष
क्याम्पस चलाउन २५ लाख रुपियाँ बार्षिक खर्च लाग्छ । त्यसो त त्यो रकमको ४० प्रतिशत हिस्सा विद्यार्थीबाटै उठाउन सकिन्छ, अर्थात १० लाख रुपियाँ विद्यार्थीबाट संकलन हुन सक्ने क्याम्पस प्रशासनको अनुमान छ । बाँकी रह्यो १५ लाख रुपियाँ । यो रकम संकलनका लागि विभिन्न उपायहरु अवलम्बन गर्न सकिन्छ । जस्तो कि, उच्च शिक्षाको अधिकार स्थानीय सरकारलाई नभए पनि बेरुजु नै हुने भएपनि स्थानीय सरकारले यसअघि पनि ब्यहोरेको छ भने यसपटक पनि १५ लाख ब्यहोर्ने निर्णय गरिसकेको छ । हामीले मनहरी बहुमुखी क्याम्पसलाई मनहरी गाउँपालिका अर्थात, मनहरी गाउँपालिकाको पनि एउटा वडामा मात्रै सीमित राखेर सोच्यौँ भने त्यसले हित गर्दैन । यो क्याम्पस कैलाश, राक्सिराङ र मनहरीकै गौरवको सम्पति हो भन्ने सोच्न सकेमा व्यवस्थापकीय पाटो पनि फराकिलो भएर जानेछ । जस्तो कि, अहिले जोखिम मोलेर मनहरी गाउँपालिका एक्लैले आर्थिक समस्या टार्न गरिरहेको प्रयत्नमा हामीले कैलाश र राक्सिराङ गाउँपालिकालाई जोड्न सक्छौँ कि सक्दैनौँ ? महत्वपूर्ण प्रश्न हो यो । हामीहरुले क्याम्पस सञ्चालन कार्यलाई उल्लेखित तीनवटै पालिकालाई स्वामित्व ग्रहण गराउने व्यवस्था मिलाउने हो पनि आर्थिक व्यवस्थापन गर्न सकिन्छ । यी दुई पालिकाबाट उच्च शिक्षा छात्रबृत्ति स्वरुप मात्रै भनेर पनि ५ लाख बार्षिक बिनियोजन गर्ने अबस्था सिर्जना गर्न सकियो भने पनि ठूलो राहत हुने छ । त्यसैगरी मनहरी गाउँपालिकाले पनि उच्च शिक्षा छात्रबृत्ति भनेर क्याम्पसलाई बार्षिक ५ लाख दिने हो भने अब अपुग रकम जम्मा ५ लाख मात्रै हुन आउँछ । बाँकी ५ लाख संकलन गर्न हामीले देउसी भैलो, कन्सर्ट, चन्दा, दान, मकै दान, धान दान, काठ दान लगायत जिन्सी संकलनबाट पनि उठाउन सक्छौँ । विभिन्न शैक्षिक कार्यक्रमहरु (प्रोजेक्ट) चलाउनका लागि संघीय तथा प्रदेश सांसद र सरकारहरुबाट रकम बिनियोजन गर्ने र त्यसलाई शैक्षिक उन्नयनमा लगाउने बिषयहरु पनि सोच्नु जरुरी हुन्छ । त्यसैगरी विभिन्न अबसरहरु जस्तै, जन्मदिन मनाउने रकम, पितृको सम्झनामा सहयोग, दिवंगत व्यक्तिको सम्झना सहयोग जस्ता कुराहरु पनि क्याम्पसको कोषमा जोड्न सक्दा आर्थिक पाटो निकै राम्रो हुनेछ । तर, यसो भनिरहँदा उल्लेखित सबै उपायहरु स्थायी होइनन्, स्थायी उपायका लागि विद्यार्थीको संख्या बृद्धि गर्नैपर्छ भन्ने कुरालाई सकैले भुल्नु हुँदैन ।

गाउँपालिका र क्याम्पसबारे भ्रम
मान्छेहरुले भन्ने गर्छन्–‘क्याम्पसको त्यस्तो हरिबिजोग छ, गाउँपालिका के हेरेर बस्छ ?’ ती मान्छेहरुले कुरा नबुझेर त्यस्तो प्रश्न गरिरहेका हुन् । नेपालको संविधानले नै शिक्षाको तहगत अधिकारको अख्तियारी गरिदिएको छ । जस अनुसार माध्यमिक शिक्षा अर्थात कक्षा १२ सम्मका लागि मात्रै गाउँपालिकाले व्यवस्थापन गर्न पाउँछ । त्योभन्दा माथि अर्थात स्नातक तहभन्दा माथिको अधिकार प्रदेश सरकारलाई दिइएको छ । जस अनुसार हाम्रो मनहरी बहुमुखी क्याम्पस पनि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत हो । त्यसैले गाउँपालिकाले क्याम्पसका गतिविधिहरुप्रति चासो, चिन्ता र निगरानी राख्नु एउटा बिषय वा माया हो । तर, बाध्यकारी व्यवस्था होइन । क्याम्पस बिग्रँदा गाउँपालिकालाई गाली गरिरहनु पर्दैन । तर, मनहरीमा भयानक संस्कारको विकास बिगतमा गरिएको छ, गाउँपालिका अध्यक्षलाई क्याम्पस सञ्चालक समितिको अध्यक्ष बनाएर । गाउँपालिका अध्यक्ष स्वयम् पालिकास्तरका दर्जनौ समितिको संयोजकको रुपमा काम गर्नुपर्ने कानूनी बाध्यात्मक अबस्था छ । गाउँपालिकाको ५० हजार जनसंख्याको नेतृत्व गरेर आर्थिक, सामाजिक, सांस्कृतिक सबैखाले विकास गर्ने अगुवाई गर्नुपर्ने पालिका अध्यक्षलाई क्याम्पसको अध्यक्ष बनाएर भारी बोकाउने कार्य राम्रो होइन । गाउँपालिकाबाट बजेट हालिदिन्छन् भन्ने आशाले यस्तो प्रयास बिगतमा भएको छ । यसले राम्रो नतिजा ल्याउँदैन । नपत्याए अहिलेकै क्याम्पसको अबस्थालाई हेर्दा हुन्छ ।

बिगतको अभ्यास र अबको निकाश
मनहरी बहुमुखी क्याम्पसको मुख्य समस्या नै सञ्चालक समितिको इच्छाशक्ति क्षीण हुनु हो । जब क्याम्पस सञ्चालक समिति निर्माण गर्ने बेला आर्थिक भारी बोकाउन पालिका अध्यक्षलाई जिम्मा दिइयो, त्यसपछि राजनीतिक आस्थाका आधारमा भागबण्डा लगाउने काम भयो, त्यही नै गलत भयो । क्याम्पस सभाका १११ जना सभासदमध्येबाट राजनीतिक आधारमा नभई क्रियाशिलता, गतिशिलता, जिम्मेवारीबोध भएको र प्रशस्तै समय निकालेर हिँड्ने र टिमवर्क गर्न सक्ने मान्छेले क्याम्पसको नेतृत्व गर्नुपर्छ । क्याम्पस बन्द हुने अबस्थामा पुग्दा पनि सरोकारवालासामु हारगुहार गर्न नसक्ने, समस्याको निराकरणका लागि सामूहिक अभ्यास र आह्वान गर्न नसक्ने, क्याम्पस सञ्चालनका लागि योजना निर्माण गर्न नसक्ने र बनेका योजनाको कार्यान्वयन भए-नभएको मूल्यांकन गर्न नसक्ने समितिको कुनै अर्थ हुँदैन । तसर्थ अबको क्याम्पस सभामा अहिलेको क्याम्पस सञ्चालक समितिको बैठक संख्या, बैठकमा पदाधिकारी र सदस्यहरुको उपस्थिति संख्या समेत सार्बजनिक गरिनुपर्छ । राजनीतिक पहुँचको आधारमा पदको भागबण्डा नगरीकन एकाग्र भएर लागिरहने मान्छेहरुलाई समितिमा ल्याएर काम गराउनुपर्दछ । मैले पुस ६ गतेको सरोकारवाला बैठकमा भनेको थिएँ–‘छातिमा चारतारे झण्डा र कम्युनिष्टको झण्डा बोकेर क्याम्पसमा छि¥यौँ भने त्यसले दिने प्रतिफल भनेको शून्य नै हो ।’ कुशलतापूर्वक क्याम्पस चलाउने र क्याम्पस निश्चित व्यक्ति, संस्था, क्याम्पस सभा, भूगोलका लागि मात्र नभई सिँगो समुदायलाई क्याम्पसप्रतिको अपनत्व दिलाउने क्षमता भएका व्यक्तिले क्याम्पसको नेतृत्व गरोस् भन्ने चाहना हामी सबैले राख्नुपर्दछ ।

(लेखक मनहरी बहुमुखी क्याम्पस सभाका सदस्य हुनुहुन्छ ।)

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles

राष्ट्रिय मावि सुनाचुरीमा माघ २६ गते आँखा शिविर हुने

रोटरी क्लब अफ हेटौडा, रोट्रयाक्ट क्लब अफ हेटौडा र हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजनामा आँखा शिविर हुन लागेको रोटरी क्लब अफ हेटौडाका सदस्य एबम् आँखा शिविर संञ्चालन समितिका सदस्य विदुर रिजालले बताउनुभयो ।

युनिभर्सलकी दीपिका हेटौडा डान्सिङ स्टारको फाइनलमाः भोट गर्न सबैमा अपिल

मनहरी–माघ २१ गते । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अन्तरगत भइरहेको हेटौंडा डान्सिङ स्टारमा...

चेपाङ समुदायमा आयोडिनको महत्व बुझाउँदै राक्सिराङ गाउँपालिका

राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ...