राक्सिराङ–चैत १४ गते । राक्सिराङ गाउँपालिकामा रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छ ।
पालिकास्तरीय कमिटीको नेतृत्व नेपाली काँग्रेस परित्याग गरेका राजन मल्लले लिनु भएको छ ।
गाउँपालिकास्तरीय भेलाबाट मल्ललाई सभापतिमा चयन गरिएको हो उपसभापतिमा कालिचरण कोइराला, सचिवमा रामकुमार सुनारलाई चयन गरिएको मल्लले जानकारी दिनुभयो ।
त्यसैगरी कोषाध्यक्षमा मनकुमारी प्रजा चयन हुनु भएको छ । सदस्यमा भने अहिले सूर्यबहादुर ल्वागुन मात्रै चयन भएको र छिट्टै नै बाँकी सदस्यहरु टुंग्याउने गरी पार्टीको काम अघि बढ्ने सभापति मल्लले जानकारी दिनुभयो ।
पार्टीको संगठनलाई सबै वडाहरुमा बिस्तार गर्ने र तत्कालै पार्टीलाई बलियो बनाउने गरी लाग्ने प्रतिबद्धतासहित भेला समापन गरिएको सल्लाहकार समितिका सदस्य राजकुमार शाह ठकुरीले जानकारी दिनुभयो ।
भेलामा जिल्ला सभापति भरत पराजुलीसहित जिल्ला र प्रादेशिक नेताहरु समेत सहभागी हुनुहुन्थ्यो । गत मंसीर ४ गते सम्पन्न निर्वाचनमा संघीय संसदतर्फ मकवानपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिएर १२ हजार हाराहारीमा मत ल्याएका पराजुली त्यसयता उत्साहित भएर पार्टीका काममा लागिरहनु भएको छ ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले पालिकास्तरीय कमिटीलाई चुस्त दुरुस्त पार्दै अघि बढिरहेको छ ।