मनहरी–माघ ४ गते । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्ताैलाले निकुन्जहरुका मध्यवर्ती क्षेत्रलाई खारेज गर्ने घोषणा गर्नु भएको छ ।
सरकारले भूमिसम्बन्धी अध्यादेश जारी गरेर मध्यवर्ती क्षेत्रका बासिन्दाका समस्या समाधानमा ध्यान दिएको बताउँदै उहाँले भन्नुभयो–‘हामी जनताको हित विपरित रहेको मध्यवर्ती क्षेत्र नै खारेज गर्न चाहन्छौं ।’
नेपाल सरकारले पेस गरेको भूमि सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछिको खुसीयालीमा मनहरी गाउँपालिका ६ डिपाडमा आयोजित धन्यवादसहित दीप प्रज्वलन कार्यक्रमलाई शुक्रबार साँझ सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नु भएको हो ।
‘गृहमन्त्रीसहित राजनीतिक पार्टीका नेताहरुबीच भएको छलफलमा पनि एउटा जेन्टल एग्रिमेन्ट भएको छ’, बर्ताैलाले भन्नुभयो–‘हामी देशभरका १४ लाख बासिन्दालाई जग्गाधनी पुर्जा दिनका लागि हामीले अध्यादेश ल्याएका हौँ ।’
जनतालाई भूस्वामित्व दिनका लागि सरकार अघि बढेको बताउँदै बर्ताैलाले जनताको तर्फबाट अध्यादेशको समर्थन र स्वागतमा गरिएको दीपावलीबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत रिपोर्टिङ गर्ने बताउनुभयो ।