मनहरी–माघ ४ गते । भूमि सम्बन्धी समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलले मनहरी गाउँपालिकाबाटै लालपुर्जा बितरणको काम अघि बढ्ने घोषणा गर्नु भएको छ ।
सरकारले अध्यादेश जारी गरी भूमि सम्बन्धी समस्या समाधानका लागि पहल गरेको अबसरमा मनहरी गाउँपालिका ६ डिपाडमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘अब यही ठाउँबाट लालपुर्जा बितरणको प्रक्रिया अघि बढ्ने घोषणा गर्न चाहन्छु ।’
उहाँले स्थानीय सरकारले यसअघि लगत संकलन लगायत अन्य प्रक्रियाहरु अघि बढाइसकेको सन्दर्भ उल्लेख गर्दै बिगतमा जनतालाई दुःख हुने खालका ऐनहरु चलनचल्तीमा रहेकाले जनताले पीडित हुनुपरेको सुनाउनुभयो ।
‘हामीले जनहित बिपरित ऐन कानूनहरुको संशोधन र खारेजीका लागि पटक पटक आवाज उठाइरह्यौँ, संघर्ष ग¥यौं’, अध्यक्ष बलले भन्नुभयो–‘बल्ल जनतालाई जग्गाको धनी बन्ने अबसर आएको छ, यो अबसरको सुरुवात यही स्थानबाट गर्नेछौं ।’
कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन हुनासाथ अध्यक्षसँग भेटघाट गरी मनहरीबाटै लालपुर्जा बितरण गर्ने कार्यलाई प्राथमिकतामा राख्नका लागि अनुरोध गरी काम अघि बढाइएको बताउनुभयो ।
‘म यसै मञ्चबाट उपाध्यक्ष र वडाध्यक्षहरुलाई भन्न चाहन्छु’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘उद्घाटन र समापन अनि एनजीओको कार्यक्रममा हिँडेर समय खेर फाल्ने होइन, लालपुर्जा प्राप्तिका लागि जनताको काममा रात दिन खटिनुहोस् ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिव बीरबहादुर घलान ज्वाला, नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैला, नेकपा एमाले मनहरीका अध्यक्ष नवीन सुवेदी, मनहरी गाउँपालिका ६ नं वडाध्यक्ष युवराज थपलिया, डिपाड सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बरबहादुर मुक्तान लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास पूर्वराज्य मन्त्री सन्तबहादुर चेपाङ, मनहरी गाउँपालिका निवर्तमान अध्यक्ष एकराज उप्रेती, राष्ट्रिय भूमि आयोगका पूर्व विज्ञ सदस्य तुल्सी रिजाल, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, मनहरी १ का वडाध्यक्ष शिवप्रसाद खनाल, २ का अध्यक्ष राजकुमार पाख्रीन, ३ का अध्यक्ष अनन्त प्रकाश अर्याल, ४ का अध्यक्ष प्रकाश थापा, ५ का अध्यक्ष दीपेन्द्र अधिकारी, ७ का अध्यक्ष ठाकुरराम तितुङ, ८ का अध्यक्ष नारायण उप्रेती र ९ नं वडाका अध्यक्ष राजकुमार श्रेष्ठ लगायत विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुको सहभागिता रहेको थियो ।